प्रवासी

Tuesday, April 8, 2008

असल संविधानका लागि असल प्रतिनिधी-

निराजन बताससंविधानसभाको निर्वाचनको दिन आजको मितिको ठीक एक हप्ता मात्र टाढा छ । संसारकै इतिहासमा विरलै आएको यस्तो घडी पहिलो चोटि नेपालमा पनि प्रयोगमा आउँदैछ ।
नयाँ नेपाल बन्ला र नयाँ नेपाली भाग्य कोरिएला भन्ने आशामा बसेका जनता यतिखेर संविधानसभाको निर्वाचनको व्यग्र पर्खाइमा छन् । माओवादी जनयुद्धकालदेखि उठेको संविधानसभाको कुरा आज आएर संविधान निर्माणको द्वारको रुपमा निर्वाचन मार्फत सम्पन्न हुने संघारमा आइपुगेको छ । युद्धकालमा युद्धविरामको मूल एजेण्डा बनेको संविधानसभाको निर्वाचन विषयमा नै युद्धविराम हुन सकेका थिएनन् र युद्धविरामहरु भंग समेत भएका थिए । राजा ज्ञानेन्द्रको उग्र तानाशाही राज्य शासन र जनताको त्यसप्रतिको तीव्र वितृष्णाले अन्ततः देशको संविधान राजामुखी वा सत्तामुखी होइन, जनता आफैंले लेखेको जनमुखी हुनुपर्ने बोध स्वयम् जनतालाई नै गरायो । आमुल परिवर्तनको त्यही जनचाहनाले संविधानसभाकै म्याण्डेटमा ऐतिहासिक जनआन्दोलन ०६२/०६३ पनि देशमा भयो । जनआन्दोलन पछि पनि आज निकै लामो कसरत र बाधाहरु छिचोलेर संविधानसभाको लामो बहसले सार्थकता पाउन लागेको संक्रमणकालीन अवस्थामा आइपुगेको छ । यस अघि बेग्ला-बेग्लै समयमा लेखिएका थुप्रै संविधानहरु जनताका लागि समयक्रममा अनुकुल हुन सकेनन् । सीमित व्यक्तिले जनमर्म संविधानमा लेख्ने कुरा पनि भएन । सबै जनतालाई पूरानो संविधानले राज्य सञ्चालनमा अटाउन पनि सकेन । राज्यको नेतृत्व तहमा नपरेका र पछाडि पारिएका जनताले आफ्नो अधिकार के हो र अधिकार कसरी आफ्ना लागि पनि आउला भन्ने समेतको ज्ञान गराउने वातावरण निर्माण हुन सकेन । तसर्थ लामो समयसम्म देशका विभिन्न समुदाय र समूहको उन्नति एक इन्च माथि उठ्न सकेन । यद्यपि देशको ब्रि्रदों अवस्थालाई भने जनताले राम्ररी हेर्दै गए र त्यसमा उचित कानुनको अभावले आफुसँगै देश थलिएको ज्ञान गरे र संविधानसभाबाट बन्ने संविधान निर्माणको लागि जनता तातिए । जनअपेक्षा अनपेक्षित नभए यो चुनाव पछि नयाँ नेपाल बनाउने एक नयाँ संविधान बन्नेछ र संविधानमा समानुपातिक रुपमा सबै जनताले अधिकारका कुरामा साझेदारी गर्नेछन् । संविधानमा सबैको हिस्सा रहने गरी संविधान बनाउन जागरुक र सक्षम प्रतिनिधीलाई छान्ने मौका पनि हो यो । त्यसैले चुनाव अगाडि उठेका जायज मागलाई सम्बोधन गर्न सक्ने नेता तथा पार्टीलाई जिताउन आजको जन चुनावी अभियान केन्द्रित बन्नुपर्छ । सोचेर, बुझेर र हतार नगरिकन र बाहृय दबाव र प्रभावमा परेर गरिएको भोट निर्णयले जनताले भविष्यमा सानो सास्ती नपाउने ठाऊँ संविधानमा बनाउनु पर्छ । जनताले यो पटक असल प्रतिनिधी र पार्टी छानेर आफुलाई र देशलाई असल सावित गर्नु छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home